About the Committee
Agenda:
प्रथम एजेन्डा: आजको युगमा नेपालका लागि लोकतन्त्र उपयुक्त हो कि राजतन्त्र?
दोस्रो एजेन्डा: नेपालमा दण्डहीनता—यथार्थ समस्या कि अतिरञ्जना?
Committee Email: pratinidhisabha@ratobangala.edu.np
अन्तरिम सरकार भनेको स्थायी सरकार गठन हुनुअघि केही समयका लागि गठन गरिने अस्थायी सरकार हो। यसको मुख्य उद्देश्य देशको प्रशासन सञ्चालन गर्नु र नयाँ सरकार गठनका लागि आवश्यक तयारी गर्नु हो। यस्तो सरकार प्रायः राजनीतिक संक्रमण वा अस्थिर अवस्थाको समयमा गठन गरिन्छ।
प्रतिनिधि सभा नेपाल सरकारको संसद्को तल्लो सदन हो, जहाँ करिब तीन करोड नेपाली जनताको प्रतिनिधित्व गर्न २७५ जना सांसदहरू निर्वाचित हुन्छन्। यस सभामा सांसदहरूले राष्ट्रिय मुद्दाहरूमा छलफल गर्छन्, सरकारी नीतिहरूको मूल्याङ्कन गर्छन्, र कार्यपालिकालाई जवाफदेही बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्छन्।
हालसालै देशमा देखिएको “जेन जेड आन्दोलन” का कारण प्रतिनिधि सभाको विघटन भई अन्तरिम सरकार गठन भएको परिदृश्य सिर्जना भएको छ। रातो बंगला मोडल युनाइटेड नेसनमा पनि हामी यही परिकल्पनामा आधारित रही नेपालको वर्तमान अवस्था र भविष्यको सम्भावना झल्काउने उद्देश्यले अन्तरिम सरकार र प्रतिनिधि सभाको मोडल प्रस्तुत गर्दैछौँ। यस अन्तर्गत देशका विविध समसामयिक विषयहरूमा छलफल गरी समस्याको समाधान खोज्ने प्रयास गरिनेछ।
यस सभाको मुख्य उद्देश्य अहिलेको युवा पुस्तालाई देशको राजनीतिक अवस्था र शासन प्रणालीबारे गहिरो बुझाइ दिनुका साथै भविष्यमा सक्षम प्रतिनिधि बन्ने क्षमता विकास गराउनु हो।
हामी यस मोडल प्रतिनिधि सभालाई यथासम्भव वास्तविक प्रतिनिधि सभासँग मेल खाने बनाउन प्रयासरत छौँ जसमा मन्त्रिपरिषद्, अनुगमन समिति, निर्वाचन आयोगदेखि प्रतिनिधि सभामा हुने शून्य समय, विशेष समय, ऐन संशोधन जस्ता कार्यहरू समावेश गरिनेछन्। यद्यपि यहाँ २७५ जना सांसदहरू उपस्थित नहुन सक्छन्, सहभागी सांसदहरूले देशव्यापी प्रतिनिधित्व गर्दै गम्भीर बहस र निर्णयमा संलग्न हुनेछन् भन्ने हाम्रो विश्वास छ।
समग्रमा, यसपालिको मोडल अन्तरिम सरकार तथा प्रतिनिधि सभा कुनै सामान्य कार्यक्रम होइन। यो सक्रिय, जिम्मेवार र राष्ट्रप्रति समर्पित युवाहरूको अभ्यासको मञ्च हो, जसले भविष्यका सक्षम नेतृत्वको निर्माणमा योगदान पुर्याउनेछ।